+
+

विद्यार्थीले गरे पुस्तक लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते ८:१५

सिड्नी । नेपालमा सफाइ अभियन्ताको परिचय बनाएका अष्ट्रेलिया निवासी लेखक खेम शर्माको पुस्तक ‘स्वणिर्म रहस्य’को नेपाल संस्करणको लोकार्पण सोमबार काठमाडौंमा एक साधारण कार्यक्रमकाबीच ४० जना विद्यार्थीहरुले गरेका छन् ।

सामान्य कार्यक्रमसहित गौशालास्थित प्रणवानन्द आश्रमका विद्यार्थी तथा विद्यालय परिवारका सदस्यहरुले उक्त पुस्तक सामूहिक रुपमा एक अर्काबीच उपहारका रुपमा ग्रहण गर्दै लोकार्पण गरेका हुन् । शर्माले सुरु गरेको सामाजिक अभियानहरुको सफलताका लागि कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले ओम उच्चारण, गायत्री मन्त्र र महामृत्युञ्जय मन्त्र उच्चारण गरेका थिए ।

अनुशासित जीवनशैली सम्बन्धी उक्त पुस्तकको अन्तर्राष्ट्रिय संस्करणको लोकार्पण गत जुन १९ मा अष्ट्रेलियामा भव्य कार्यक्रमसहित गरिएको थियो । आफ्ना कामहरुलाई समाजसेवासँग जोड्न चाहने लेखक शर्माले उक्त पुस्तकको बिक्रीको रकमलाई पनि समाजसेवासँग जोडेका छन् ।

अष्ट्रेलियामा भएको लोकार्पण कार्यक्रमका पछि बिक्री भएको रकम नेपालमा कोरोना प्रभावित पत्रकारहरुको सहयोगका लागि खर्च गरिएको थियो भने सिधुपाल्चोकको मेलम्चीमा बाढी पहिरो पीडित विद्यार्थीका लागि गत जुलाई १९मा पाठ्यसामग्री उपलब्ध गराइएको थियो ।

जन्मियो फाउण्डेसन

अभियन्ता शर्माले विगतमा गरेका र आगामी दिनमा गर्ने सामाजिक कामहरु अब एक फाउण्डेसन मार्फत गर्ने भएका छन् । उनीलगायत अष्ट्रेलियामा क्रियाशील नेपाली अभियन्ताहरुको नेतृत्वमा स्थापित स्वणिर्म युग फाउण्डेसनले पहिलो चरणमा उक्त पुस्तक मार्फत प्राप्त रकमबाट नेपालमा विपन्न बालबालिकाहरुलाई पाठ्यसामग्री हस्तान्तरण कार्यक्रमहरु गर्ने छ ।

फाउन्डेसनले आफ्ना सामाजिक काममा स्वदेश र विदेशमा भएका व्यक्तिगत तथा संस्थागत अभियन्ताहरुलाई उत्प्रेरित गर्दै समन्वय गर्ने र पारदर्शी तरिकाले सहभागी गराउने लक्ष लिएको छ । अभियानमा अन्य लेखक तथा उनीहरुका पुस्तकलाई पनि सहभागी गराउँदै सामाजिक काममा जोड्ने लेखक खेम शर्माले बताए ।

उनका अनुसार फाउण्डेसनको वेबसाइट मार्फत लेखकका रचनाहरुको प्रवर्द्धन गरिने र बिक्रीबाट प्राप्त रकम स्वणिर्म उपहार अभियान अन्तर्गतका विद्यार्थीलाई पाठ्यसामग्री उपहार हस्तान्तरण गरिने छ । अभियानमा अष्ट्रेलियाका एनआरएन अभियन्ताहरु सहभागी हुन थालेका छन् ।

चुनाव हारे पनि समाजसेवा जारी

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको गत चुनावमा अन्तर्राष्ट्रिय समितिको सदस्य पदमा पराजित इन्जिनियर अनन्त कार्कीको अगुवाइमा सोमबार काठमाडौंमा ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरियो ।

स्वणिर्म युग फाउन्डेसन मार्फत गरिएको उक्त पाठ्यसामग्री हस्तान्तरण कार्यक्रममा नेपालबाट सूचना प्रविधिको काम गर्ने युवा कृष्ण थापा पनि थपिएका छन् । दुवै जनाले उपलब्ध गराएको चालिस थान अध्ययन सहयोग सामग्री प्रणवानन्द आश्रमका विद्यार्थीलाई हस्तान्तरण गरियो ।

उक्त आश्रमका प्रधानाध्यापक राजाराम यादवले फाउण्डेसन मार्फत प्राप्त पाठ्यसामग्रीले आफ्ना विद्यार्थीको अध्ययनलाई निकै सघाउ पुग्ने बताए । वि.सं. २०५३ सालदेखि विद्यार्थीहरुलाई अध्यापन गराइरहेको आश्रममा आवासीय रुपमै रहने विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो ।

फाउण्डेसनले तयार गरेको उपहार प्याकेजमा प्रत्येकलाई एक थान झोला, नौ थान कापी, एक प्याकेट पेन्सिल, १० वटा मास्क, एक थान स्यानिटाइजर राखिएको छ । फाउण्डेसनले आश्रमका शिक्षक शिक्षिकाहरुलाई खेम शर्माद्वारा लिखित ‘स्वर्णिम रहस्य’ पुस्तक पनि उपहार स्वरुप प्रदान गरेको छ ।

कसरी जीवनका हरेक आयामहरुलाई व्यवस्थित र सन्तुलित गर्दै अघि बढ्ने भन्ने व्यवहारिक अनुभवहरु प्रस्तुत पुस्तकले शिक्षकहरुमा अनुशासित तथा सकारात्मक भावना विकास गराउने विश्वास फाउण्डेसनले लिएको छ ।

आश्रममा आवासीय रुपमा रहेका विद्यार्थीहरुका लागि तीस थान शैक्षिक सामग्री सहयोग गर्ने इन्जिनियर अनन्त कार्की विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा रहँदै आएका छन् । उनी अष्ट्रेलियन सरकारको सडक विभागमा इन्जिनियरको रुपमा कार्यरत छन् । सिड्नी सिटी लाइट रेलका इन्जिनियर कार्कीले ट्राफिक म्यानेजमेन्ट सिष्टम र सडक सुरक्षा विषयका ज्ञाता पनि हुन् ।

आधा दशक भन्दा बढी समयदेखि वेब डिजाइनिङ हुँदै प्रोग्रामिङ गर्न थालेका सूचना प्रविधि व्यवसायी कृष्ण थापा मेगाबाइट टेक प्रालिबाट आफ्ना सेवा प्रदान गर्छन्, जसमा वेब डिभलपिङ, कन्टेन्ट लेखन मोबाइल निर्माण लगायत कार्यहरु पर्दछन् ।

थापाले दश थान शैक्षिक सामग्री विद्यार्थीहरुका लागि सहयोग गरेका छन् । मन्तव्यका क्रममा थापाले आफूहरुबाट भएको सहयोग विद्यार्थीहरुले सदुपयोग गर्नेमा विश्वास व्यक्त गरेका थिए ।

लेखक तथा योग प्रशिक्षक थपिए

अष्ट्रेलियाका क्रियाशील लेखक, योग प्रशिक्षक तथा अध्यात्मिक वक्ता आचार्य राजन पनि यो अभियानमा सहभागी भएका छन् । उनले आफ्नो पुस्तक ‘सुख सूत्र’को बिक्रीबाट प्राप्त हुने रकम फाउण्डेसन मार्फत नेपालमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपहार पठाउने बताएका छन् ।

उनको पुस्तक फाउन्डेसनको उपहार प्याकेज अन्तर्गत किन्न सकिन्छ र उक्त पुस्तक एक थान बिक्रीबाट एक जना विद्यार्थीलाई पाठ्यसामग्री फाउण्डेसनले नेपालमा लेखकले चाहेको स्थानमा उपहार पुर्‍याएर हस्तान्तरण गर्दछ ।

स्वणिर्म युग फाउण्डेसनले सबै लेखकहरुलाई यो अभियानमा सहभागी हुन र नेपालमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपहार पठाउने कार्यक्रममा हातेमालो गर्न आह्वान पनि गरेको छ ।

पहिलो चरणमा दश हजार विद्यार्थीलाई शैक्षिक सामग्री उपहार पुर्याउने लक्ष लिएको फाउण्डेसनले लेखकले सिर्जना मार्फत मात्रै होइन आफ्नो सिर्जना बिक्रीबाट प्राप्त रकम समेत समाजलाई फिर्ता गर्दछन भन्ने नमूना स्थापित गर्न चाहेको यो अभियानको सुरुवातकर्ता लेखक खेम शर्माले बताए ।

अभियानमा सदस्यहरु थपिने क्रम जारी

निकट भविष्यमा सिन्धुलीको बेल्टारस्थित शिखर माविका ११६ जना विद्यार्थीलाई र दलित स्कूल पर्साका २११ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको फाउण्डेसनले बताएको छ । सिन्धुलीका लागि उपहारको लक्ष पूरा भएको र पर्सास्थित विद्यालयका लागि उपहार संकलन जारी रहेको पनि फाउण्डेसनले बताएको छ ।

अष्ट्रेलियामा क्रियाशील एनआरएन अभियन्ता, केशव सापकोटा, अच्युत थपलिया, मोनी लिम्बू, कलम खड्का, शैक्षिक तथा लेखा परामर्शदाता महेन्द्र घिमिरे, आप्रवासन परामर्शदाता प्रिती दाहाल लगायत दर्जनौं अभियन्ताहरु शैक्षिक सामग्री उपहार कार्यक्रममा सहभागी भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?